नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ पञ्जाव एफसीमा आवद्ध भएका छन् ।
भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।
पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको हो । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आई लिगमा पञ्जावमा पहिलो रोजाइका लागि खेलेका किरणले आईएसएलमा पनि पहिलो रोजाइसँग खेल्ने सम्भावना छ । त्यो भएमा उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए ।
