युरो कप २०२४ को छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । बेन्जामिन पाभार्डको एक मात्र गोलमा दोस्रो जित निकालेको हो ।
समूह बी अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गर्यो । खेलमा पाभार्डले ५०औ मिनेटमा गोल गरेका थिए । उनले गरेको गोल नै निर्णायक बन्यो ।
समूह बी मा लगातार दोस्रो जितपछि फ्रान्स ६ अंक जोडेर शीर्ष स्थानमा छ । फ्रान्सले यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
समूह बी कै अर्को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ३–० ले पराजित गरेको छ । समूह एफमा अष्ट्रियाले इस्टोनियालाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । सोही समूहमा स्वीडेनले अजरवैजानलाई ५– ० ले पराजित गरेको छ ।
समूह ई मा पोल्याण्डले अल्वानियालाई १–० ले पराजित गरेको छ । चेक रिपब्लिक मोल्दोभासँग गोलरहित बराबरी खेलेको छ ।
