इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । इटालियन क्लब मिलान १२ वर्षपछि क्वाटरफाइनल प्रवेश गरेको हो ।
इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा १–० को जित निकालेको थियो । पोर्टोमा मंगलबार राति भएको खेलमा दुवै पक्षबाट गोल हुन सकेन् ।
घरेलु टोली पोर्टोले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । तर गोल गर्न सकेन । इन्टरले पनि पोर्टोविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् ।
इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । पहिलो लेगमा रियल लिभरपुलविरुद्ध ५–२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २–० ले अगाडि छ ।
