जनमत पार्टी सरकारबाट नबाहिरिने पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
उनले जनमत पार्टीको सरकारबाट बाहिरिने कुनै परिस्थिति नबनेको बताए । उनले भने, ‘अरु पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’
उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए । अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए ।
जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले स्पष्ट पारे ।
