नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय तीन दलले गरेसँगै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठुला दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका हुन् ।
एमाले अध्यक्ष ओलीले गत आइतबार नै माधव नेपालसँग गोप्य वार्ता गरेर माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने बताएका थिए । बुधबार रातिको कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने, प्रधानमन्त्रीमा एक वर्षको अवधि माधव नेपाललाई दिने सहमति नजिक नेताहरू पुगेका थिए । तर हिजोको तीन दलको बैठकले माहौल फेरिएको छ । अब नेपाललाई राष्ट्रपति बनाउन प्रचण्ड अघि सरेका छन् ।
प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस आफुले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ । यता एमाले सत्ता साझेदार दलबीच भएको सहमतिको आधारमा राष्ट्रपति आफुले पाउनुपर्ने बताउँदै आएको छ। कांग्रेसको मत पाएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोजिनुपर्ने पक्षमा छन्। प्रचण्डले शनिवारसम्म राष्ट्रिय सहमतिसहितको उम्मेदवार पाउने जिकिरसमेत गरेका छन् ।
