रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९ मा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट र पूर्वाधार विकास कार्यक्रम चितवनको प्राविधिक सहयोगमा सडक आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
सो आयोजनाअन्तर्गत वडा नं–९ मा बेलटाँडीदेखि सिसै गाउँको पुछारसम्म जोड्ने सडक, कृष्ण मन्दिरदेखि निपनी जोड्ने नहर सडक र जानकी टोलको सडकको अस्पाल कालोपत्रेको काम सम्पन्न भएको हो ।
सो आयोजनाका लागि बेलटाँडीदेखि सिसै गाउँको पुछारसम्म जोड्ने सडकको लागि ३० लाख, कृष्ण मन्दिरदेखि निपनी जोड्ने नहर सडकको २५ लाख र जानकी टोलको सडकको कालोपत्रे गर्नका लागि बागमती प्रदेश सरकारबाट ३५ लाख बजेट विनियोजन भएको थियो ।
नेपाल सरकार सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा व्यवस्था भएबमोजिम सो आयोजनाको लागि आर्थिक वर्ष २०७९/८० अन्तर्गत चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी जे.के. निर्माण सेवाले ठेक्का पाएको थियो ।
सो सडकको पूर्वाधार विकास कार्यक्रम चितवन र वडा नं–९ कार्यालयका जनप्रतिनिधि एवं कर्मचारीहरुको नियमित निगरानीमा दुई महिनाअगावै निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । उनले करिब एक किलोमिटरको अस्पाल सडकको निरीक्षण गर्दै निर्धारित समयअगावै निर्माण कार्य सम्पन्न भएकोमा ठेकेदार कम्पनीलाई धन्यवाद दिए ।
उनले वडा नं–९ मा निर्माणाधीन अन्य आयोजनाको पनि गुणस्तरयुक्त निर्माण सामग्रीको प्रयोग गरी समयमै काम सम्पन्न गर्न सरोकारवाला ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
आयोजना निर्माणमा स्थानीयको स्वतःस्फूर्त सहयोग र विवादरहित ढङ्गले ठेकेदारले काम गर्ने वातावरण भएकाले सम्झौता समयभन्दा धेरै छिट्टो निर्माण कार्य सम्पन्न हुन सकेको वडाध्यक्ष अधिकारीले बताए । वडाका अन्य आयोजनाका लागि पनि वडावासीको रचनात्मक सहयोग र ठेकेदार पक्षले ढिलासुस्ती नगरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
