Nepali Unicode | Preeti to Unicode

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को ख बमोजिम बढुवा समितिको बुधबारको निर्णयअनुसार सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरेको गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनाएको छ ।

बढुवा हुनेमा सुरेशकुमार श्रेष्ठ पहिलो नम्बरमा रहेका छन् । त्यस्तै अन्जनीकुमार पोख्रेल दोस्रो नम्बरमा रहेका छन् । दीपेन्द्र शाह तेस्रो तथा पुरुषोत्तम थापा चौथो नम्बरमा छन् । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समय उजुरी दिनसमेत आग्रह गरेको छ ।

यसअघि चार जनाको लागि निकै नै रस्साकस्सी भएको थियो । रिक्त चार जना डीआईजीलाई बढुवाका लागि आवेदन माग गरेर प्रकृया शुरु गरिएको थियो । गत बिहीबार गृह मन्त्रालयको बढुवा समितिले सूचना प्रकाशित गर्दै सूचना बमोजिम सात दिनभित्र मूल्याङ्कन फाराम भरेर बुझाउनु पर्ने उल्लेख गरेको थियो ।

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा बिहीबारको निर्णयानुसार बढुवाको निम्ति सम्भाब्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी फाराम पेश गर्न भनिएको थियो ।

रिक्त रहेको सो पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा दावेदार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर