सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ जारी रहेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ जारी रहेको छ।
सोही नागरिकता विवादबारे संवैधानिक इजलासमा आज सुनुवाइ जारी रहेको छ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाईल सर्वोच्च अदालतले झिकाएको छ । त्यस्तै आवश्यक कागजात आज अदालतमा पेश हुँदै छ ।
लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए । विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ । तर उनले सन् २०१८ मा जिल्ला प्रशासन कार्यालयलाई अमेरिकी नागरिकता त्याग गरेको जानकारी गराएपछि नयाँ नागरिकता नलिएर पुरानै खारेज भइसकेकै नागरिकता प्रयोग गरेको भन्दै उनी विरुद्ध उजुरी परेको छ ।
उजुरीमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेकाले लामिछानेको नागरिकता पनि स्वतः खारेज हुनुपर्ने दाबी गरिएको छ ।
लामिछानेको नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै उनको उम्मेदवारी खारेजीको मागसहित सबैभन्दा शुरुमा निर्वाचन आयोगमा उजुरी परेको थियो । ३० कात्तिकमा उजुरीका आधारमा आयोगले सात दिनको समय दिएर उनलाई स्पष्टीकरण सोधेको थियो ।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।
