मंगलवार झन्डै ३३ अङ्कले बढेको सेयर बजार बुधवार भने घटेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से ९.०१ अङ्कले घटेर दुई हजार एक सय ७३.१० विन्दुमा झरेको छ ।
बुधबार जलविद्युत, विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा र होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ ।
दुई सय ४८ वटा कम्पनीका एक करोड ३३ लाख चार हजार कित्ता सेयर चार अर्ब ९२ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भयो ।
बुधबार साल्ट ट्रेडिङ कर्पाेरेशनको सेयर झन्डै आठ प्रतिशत तथा सिँगटी हाइड्रो र मिथिला लघुवित्तको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, ग्रीन भेन्चर्स कम्पनी र हिमालयन ठ्उऊ विकास कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
