प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।
कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ ।”
सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे । गठबन्धन सरकारकाबारे सोधिएको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । सत्ता गठबन्धनलाई अहिले जनताले अनुमोदन गरेका छन् । आगामी दिनमा मुलुकको स्थिरता र जनताले चाहेको विकास र समृद्धिका लागि देश त्यस दिशातर्फ अघि बढ्छ ।”
