नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ ।
बिहीवार पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले पदक प्रदान गरेका हुन ।
सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिड लगायतका कारण रोकिएको थियो ।
जापानी सम्राट मेइजिले यो सम्मान सुरु गरेका थिए । विश्वका विशिष्ट व्यक्तिहरूलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्स थिए ।
पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए ।
पौडेल सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न थिए ।
