शुक्रबार (आज) देखि फिल्म हलमा पनि कतारमा जारी विश्वकप फुटबल हेर्न पाइने भएको छ ।
नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि भने फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउने भएका हुन ।
काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् ।
जसअनुसार वान सिनेमाज मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँने छन् । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ ।
कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने म्यानेजर दीपेश शर्माले जानकारी दिए ।
अर्काे ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ ।
यी हलहरुले टिकट प्रतिशत सेयरिङ सहमतिमा फुटबल देखाउन लागेका हुन् । क्यूएफएक्स मल्टिप्लेक्सले पनि हलमा फाइनल खेल देखाउने तयारी गरिरहेको छ ।
शुक्रबार (आज) देखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
