नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले संसदीय दलको निर्वाचनमा जानका लागि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलको नेताका लागि सबैसँग सल्लाह गरेर अघि बढने बताएका हुन् ।
‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने,‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तीले अगाडि बढ्न पनि हुदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छाैं ।’
उनले आफू संसदीय दलको दाबेदार रहेको विषय खुलेर राख्न चाहेनन् । तर पत्रकारले सोधेको प्रश्नमा भने उनले कोसिस गर्ने बताए ।
‘पार्लामेन्ट्री पार्टीको लिडरसिपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले भने,‘ हामीले कोशिस गर्ने हो नम्बर पुर्याउनका लागि । नम्म्बर गेम लिनलाई प्रयास गर्ने हो, तर नम्बर पुगेन भने सिथिल भएर बस्ने होइन ।’
उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा खुलेर बोल्न चाहेनन् । ‘नम्बरको गेम हुन्छ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छैन,’ उनले भने,‘ कसको नम्बर के छ भनेर हेर्नु परेन ?’
