फिफा विश्वकप फुटबल २०२२ मा आज चार खेल हुँदैछन् । समूह चरण अन्तर्गत समूह ई र समूह एफ का दुई–दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ई मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । यो खेल आज दिउँसो पौने ४ बजे सुरुहुनेछ ।
पहिलो खेलमा जर्मनलाई पराजित गरेको जापान आज दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २– १ गोल अन्तरले पराजित गरेको थियो । कोस्टारिका पहिलो जितको खोजीमा छ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० ले पराजित भएको थियो ।
दोस्रो खेलमा समूह एफ मा रहेको बेल्जियम र मोरक्को भिड्दैछन् । यो खेल बेलुका पौंने ७ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १– ० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जितको खोजिमा हुनेछ । मोरक्को पहिलो जितको खोजीमा छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।
आजै क्रोएसिया र क्यानडाले प्रतिस्पर्धा गर्दैछ । यो खेल पौने दश बजे सुरुहुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।
चौंथो खेलमा समूह ई का जर्मनीले स्पेनसँग खेल्दैछ । यो खेल राति १२ः४५ मा सुरुहुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा छ । स्पेन दोस्रो जितको खोजीमा छ ।
