Nepali Unicode | Preeti to Unicode

सिन्धुपाल्चोक — जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लोकप्रिय मत ल्याएर विजयी भएका छन् । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ को मतान्तरमा पराजित गरेका हुन् । २०१५ सालमा कांग्रेसका चन्द्रलाल श्रेष्ठले गोर्खा परिषद् पार्टीका उम्मेदवारलाई पराजित गरेका थिए । त्यसयता कांग्रेसका उम्मेदवारले यो क्षेत्र जित्न सकेका थिएनन् । २०७४ सालभन्दा पहिले सिन्धुपाल्चोकमा तीन निर्वाचन क्षेत्र थिए भने हाल दुई निर्वाचन क्षेत्र रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्दा २०७४ को निर्वाचनमा जितेका तामाङले यो निर्वाचनमा भने २७ हजार ४ सय ९३ मतमात्रै ल्याउन सके । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिं श्रेष्ठले २ हजार ८ सय १९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५ सय ४३ ल्याइन् ।

यो निर्वाचन क्षेत्रमा २०१५ सालयता कांग्रेसले जित निकाल्न सकेको थिएन । कांग्रेसका केन्द्रीय सदस्य बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र परिवर्तन गरेर चुनावमा लागेका थिए । यसअघिका निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट चुनावी प्रतिस्पर्धामा हुने गरेका थिए ।

बस्नेतले जितेको सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभा निर्वाचन २०७४ मा कांग्रेसले उम्मेदवार नै उठाएको थिएन । उसले राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणालाई समर्थन गरेको थियो । कांग्रेसको समर्थन पाएका राणा २०७४ मा एमालेका तामाङसँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर