Nepali Unicode | Preeti to Unicode

मोरङको सुन्दरहरैचा– ११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ ।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शैयाको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको १४ बिघा जग्गा मध्ये ५ बिघा क्षेत्रफलमा उक्त अस्पताल बनाउन प्रतिष्ठानले अनुमति दिएको थियो । प्रतिष्ठानले जग्गा उपलब्ध गराएसँगै तत्कालीन मन्त्री ढकालले २०७७ माघ १९ गते उक्त भवन निर्माणको शिलान्यास गरेका थिए ।

तर निर्माण हुने भनिएको अस्पताल शिलान्यास पछि अलपत्र बनेको छ । अहिले उक्त जग्गाको रेखदेख गर्ने ब्यक्ती कृष्ण प्रसाद न्यौपानेले अन्न उब्जाउन थालेका छन् ।

अस्पताल बन्ने छाटकाट नदेखेपछि अन्न बाली उब्जाउ गर्न थालिएको न्यौपानेको भनाई छ । अस्पताल निर्माणका लागि शिलान्यास भएपछि उनले छैटौँ पटक वाली लगाएका छन् । तत्कालीन समयमा पाक्न लागेको तोरी विनाश गरेर अस्पतालको शिलान्यास गरिएको थियो ।

अस्पताल शिलान्यास हुँदा जुन खुसी स्थानीयमा थियो त्यो खुसी अहिले निराशामा परिणत भएको छ । अस्पताल बन्छ भन्ने आशै आशामा बसेकी स्थानीय हरिमाया लिम्बु भन्छिन्,  ‘शिलान्यास भएको बेला मान्छे आएको देखिएको तर अहिले आएको नआएको थाहा छैन । अस्पताल बन्ने आस मरिसकेको छ ।’

जग्गा प्राप्तिको काम नै नगरी लाखौँको डिपीआर तयार गरी शिलान्यास गरेको उक्त अस्पताल बन्न केन्द्र सरकारबाट ८ करोड बजेट समेत विनियोजन गरिसकिएको थियो ।

उक्त बजेट समेत चुनावको बेला पूर्व मन्त्री ढकालले आफूले विनियोजन गरी काम गरेको भनेर आफ्नो प्रगति विवरणमा त हाल्न भ्याए तर एक पटक पनि पुनः त्यस ठाउँमा भवन बन्यो बनेन हेर्न समेत जान भ्याएनन् ।

ढकालले आफ्नो प्रगति विवरणमा उक्त अस्पतालको नाम हाल्दा यता स्थानीय भने आक्रोशित भएका छन् । स्थानीय सुरेन्द्रप्रसाद ओझाले अस्पताल बनाउने भनेर जनप्रतिनिधिले जनता माझ भ्रम मात्र छरेको बताए ।

अस्पताल बनाउने कुरा हल्ला हल्लामा मात्र सीमित रहेको उनले बताए । उनले भने, ‘एक दिन आएर खाल्डो खने । मन्त्रीहरू आए अन्त्यमा केही न केही । जनता झुक्याउने काम मात्रै भयो ।’

अस्पताल बन्ने भएपछि स्थानीय सुकुम्वासीका केही घरलाई अर्काे स्थानमा व्यवस्थापन गर्ने पूर्वमन्त्री ढकालले आश्वासन समेत दिएका थिए ।

टेकु अस्पतालका ३ सय बेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याब सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना केन्द्र सरकारले बनाएको हो ।

उनै ढकाल यति बेला पुनः मोरङ ३ बाट निर्वाचनमा होमिएका छन् । मोरङ–३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री ढकाललाई ‘भ्रष्टाचार’ गरेको आरोप पनि लाग्ने गरेको छ ।

उनीमाथि आफ्नो सिट सुरक्षित गराउन तेह्रथुमबाट मोरङ आएर जितेको तर जितपछि फर्किएर आफ्नो क्षेत्रमा नआएको आरोप पनि छ ।

कोरोनाको पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गर्दा उनी स्वास्थ्य मन्त्री थिए। ओम्नी नामको कम्पनीलाई उनी नेतृत्वको स्वास्थ्य मन्त्रालयले प्रक्रिया नपुर्याई ठेक्का दिएको र त्यसको कमिसन एजेन्ट आफैँ भएको आरोप ढकाललाई लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर