रौतहटबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इच्छाबहादुर वाग्लेलाई समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवार जिताउ अभियान सञ्चालन गरिरहेका साह र बद्री न्यौपानेले वाग्लेलाई समर्थन गरेका हुन् ।
बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् । नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले बागी उम्मेदवारी ििदएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट सांसद चुनिएका मिया यसपटक एमाले प्रवेश गरी प्रतिस्पर्धामा उत्रिएका छन् । २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी कृष्णकुमार यसपटक बारा ४ मा उम्मेदवार बनेका छन् ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधार मान्दा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले पहिलो पार्टी हो । कांग्रेस दोस्रो र लोसपा तेस्रो पार्टी हुन् । एमालेको २१ हजार १६७, कांग्रेसको १६ हजार ५८९ र लोसपाको १५ हजार ८० मत छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रको मत ९ हजार १३, पाँचौ स्थानमा रहेको जसपाको ५ हजार ६९१ र छैटौं स्थानको एकीकृत समाजवादीको ५ हजार १९ मत छ ।
