श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलकालाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । अष्ट्रेलियाको सिड्नीका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।
दानुष्कामाथि २९ वर्षिय महिलाले नोभेम्बर २ मा बलात्कार गरेको आरोप लगाएपछि उनलाई आइतबार पक्राउ गरिएको हो । ३१ वर्षका दानुष्का पक्राउ परेपछि श्रीलंकन क्रिकेट टिम उनी बिना नै अष्ट्रेलियातर्फ लागेको छ ।
गत आइतबार श्रीलंकाको क्रिकेट टिम इंग्ल्याण्डसँग पराजित भएर खेलबाट बाहिरिएको थियो । तर तीन साता अघि ब्याट्सम्यान दानुष्का भने टी २० विश्व कपको पहिलो चरणको खेलमा नामिबियासँग खेलपछि घाइते भएका थिए । उनको स्थान एशेल बंडाराले टिममा लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

न्यू साउथ वेल्स प्रहरीले आफ्नो वेबसाइटमा एक अज्ञात श्रीलंकन नागरिकलाई पक्राउ गरेको उल्लेख गरेको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार दानुष्का केहि दिनअघिदेखि एक महिलासँग अनलाइन डेटिङ एपमार्फत कुराकानी गर्दै थिए । पछि भेटघाट हुने क्रममा नोभेम्बर २ मा उनले ती महिलामाथि यौन हिंसा गरेको आरोप लगाइएको छ ।
क्रिकेटर दानुष्कालाई आइतबार बिहान सिड्नीको ससेक्स स्ट्रिटस्थित एक होटलबाट पक्राउ गरी सिड्नीको प्रहरी कार्यालयमा लागिएको थियो । उनीमाथि चार मुद्दा लगाइएको छ ।
