प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजबाट सुरु भएको छ । मंसिर चार गते हुने निर्वाचनका लागि आजबाट प्रचार सुरु भएको हो ।
घरदैलो अभियान गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।
चुनाव प्रचारका लागि शीर्ष दलका नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
