मंगलबार राति झापाको गौरादह नगरपालिका–८ मा ३५ वर्षीय काकाले १५ वर्षीय भतिजलाई गोली प्रहर गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार नाताले काका पर्ने जीवन शाहले भतिजा हेमराजलाई गोली हानेर ‘आत्महत्या’ गरेका हुन् । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।
दुवैलाई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अहिले हेमराजको उपचार भइरहेको छ भने जीवनको मृत्यु भएको छ । मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
शाहले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली प्रहार गरेको देखिन्छ । भतिजालाई गोली लागेको ठाउँको ५० मिटिर उत्तरमा रहेको गेउरिया खोला किनारमा रहेको बासको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।
उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, दमकले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
