Nepali Unicode | Preeti to Unicode

विराटनगर महानगरपालिकाले सडक मिचेर बनाएका अवैध संरचना हटाउन सुरु गरेको छ । सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरिएको हो ।

सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध भएको थियो । विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएर अबैध संरचना हटाउने अभियान सुरु भएको हो ।

मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो । स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो ।

सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल नभत्काउँदा सडक बन्न नसकेपछि महानगरले पर्खाल भत्काएको स्थानीय केदार खड्काले बताए । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए ।

“महानगरका प्रमुख र उपप्रमुखज्यूबाट सडक मापदण्डमा परेका पर्खाल, घरटहरा हटाउन स्पष्ट निर्देशन दिइसक्नु भएको छ,” उनले भने, “हामीले त्यसका लागि सूचनासमेत जारी गरिसकेका छौं ।”
पर्खाल भत्काउन प्रमुख कार्यकारी कोइरालासहित नगर प्रहरीका प्रमुख राजन पौडेल, इन्जिनियर अर्जुन थापालगायत उपस्थिति भएका थिए ।

महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर