प्रतिनिधि सभाको टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेका घनश्याम भुषालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
स्वतन्त्र उम्मेदवार भए पनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुषाललाई फोन गरेका छन् । भुषालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए ।
लगत्तै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेको भए पनि भुषालले त्यसलाई अस्वीकार गर्दै स्वतन्त्र भएर चुनाव लड्ने घोषणा गरेका हुन् ।
भुषालले आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताउँदै आएका छन् । आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए ।
‘राति साढे १२ बजे प्रचण्डले मलाई भन्नुभयो । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको छु । माधव कमरेडलाई पनि कुरा गरिसकेको छु । हामी तपाईंलाई समर्थन गर्छौं । हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन । तपाईं अगाडि बढ्नुस् भन्नुभयो, तर मैले त्यसका लागि धन्यवाद मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरे,’ भुषालले भने ।
आफूले सत्ता गठबन्धनको समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही १ मा उम्मेदवारी दिने उनले जानकारी गराए । भुषाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए ।
