काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका माग सम्बोधन नहुने भएका छन् । मंगलबार दिउँसो पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैै उनीहरुका माग सम्बोधन नगर्ने संकेत गरेका हुन् ।
कोइराला समूहले समान न्यायको माग गरिरहँदा नेता महतले भने अन्याय नभएको दाबी गरे । कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा अन्याय भएको र यसलाई सच्याउनु पर्ने साथै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षमा ४० प्रतिशत सिट पाउनु पर्ने माग गरिरहँदा प्रवक्ता महतले समानुपातिकमा सहमतिबाटै बन्द सूची राखिएको दाबी गरे ।
उनले भने, ‘यसमा कुनै सत्यता छैन । सम्पूर्ण आम सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारीहरु, संसदीय बोर्डका सदस्यहरु, प्रदेशका सभापतिहरुलाई समावेश गरेर प्रदेश प्रदेशका अग्रणी नेताहरु सामेल भएर सूची पेश गरिएको छ । कतिपय त्रुटीहरु छन् । तर एउटा पक्षलाई उठाएर अर्को पक्षलाई कमजोर बनाइयो भन्ने कुरामा कुनै पनि सत्यता छैन ।’
