Nepali Unicode | Preeti to Unicode

म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले यसको तयारी भइसकेको जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरी म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैं अगावै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ ।

सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ ।

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ ।

उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ ।

म्यादीका लागि प्रहरी जवानको सुरु तलबमानसरह ४० दिनको ३४ हजार ७ सय ६० रुपैयाँ तलब, रासनबापत एकमुष्ट ७ हजार २ सय, पोसाक भत्ता ६ हजार, एकपटकका लागि प्रतिव्यक्ति १ हजार यातायात खर्च, हिमाली जिल्लामा खटिने म्यादीलाई न्यानो ज्याकेट किन्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ दिइने कार्यविधिमा उल्लेख छ ।

निर्वाचनमा खटिने सैनिक, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादीलाई चार दिन दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउने गरी अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरेको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले मन्त्रालयबाट पारित म्यादी भर्नासम्बन्धी मापदण्ड कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए ।

कार्यविधिमा पूर्वसुरक्षाकर्मी र विगतका निर्वाचनमा खटिएका म्यादीलाई आगामी निर्वाचनमा प्राथमिकतामा राखिनेछ ।

मतदान स्थलको सुरक्षामा प्रहरी र म्यादी रहनेछन् । बाहिरी सुरक्षामा सेना र सशस्त्र आवश्यकताअनुसार खटिने उल्लेख छ ।

सामान्य सुरक्षा चुनौती भएका मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशीलमा ४ प्रहरी र ६ म्यादी तथा अति संवेदनशीलमा ५ प्रहरी र ९ म्यादी खटाउने तयारी छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर