तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवकको हत्या भएको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ।
उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएपछि उनको कुटपिटमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्नको खोजी भइरहेको उनले बताए। जिसीलाई अस्पताल पुर्याउने व्यक्तिहरुलाई घटनाका बारेमा सोधपुछ भइरहेको उनले बताए।
