काठमाडौं । सेरेना विलियम्सको टेनिसबाट ‘अलबिदा’ भन्ने समय अझै केही दिन लम्बिएको छ । र, यो समय कति दिन लम्बिने हो निश्चित छैन ।
खेलाडी करियरको अन्तिम प्रतियोगिताको पहिलो खेलमा उनले डन्का कोभिनिकलाई सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी छन् । खचाखच दर्शकले भरिएको आर्थर एस स्टेडियममा सोमबार राति सेरेनाले ६–३ र ६–३ को स्कोरमा विजय हासिल गरेकी हुन् । सम्भावित बिदाइ हुने मानिएको खेलपछिको वातावरण चाडपर्वजस्तै बनेको थियो ।
टेनिसबाट सन्न्यास लिने योजनामा रहेकी सेरेनाले समर्थकसामु भनिन्, “जीवनमा अन्य अध्यायहरू पनि छन् ।’’
सुरुमा खराब लयमा देखिए पनि उनले विस्तारै लय समाएकी थिइन् । उनले एक घण्टा ४० मिनेटमा खेल आफ्नो पक्षमा पारेकी हुन् ।
सन् १९६८ बाट सुरु प्रोफेसन टेनिस युगमा सेरेनाले २३ ग्रान्डस्लाम उपाधि जितिसकेकी छन् । उनले यूएस ओपनमा मात्र ६ पटक उपाधि जितेकी छन् ।
सेरेनाले अब दोस्रो चरणमा दोस्रो वरीयताप्राप्त एनेट कोन्टभिएटविरुद्ध खेल्नेछिन् । इस्टोनियाकी कोन्टभिएटले रोमानियाकी ज्याकलिन क्रिस्टियनलाई ६–३ र ६–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
