Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कुनै किसिमका शूल्क नलिन निर्देशन दिएको छ ।

पार्टि कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार पार्टीका प्रदेश सभापति, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति र प्रदेश सभा क्षेत्रीय सभापतिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देशन दिएका हुन् ।

काङ्ग्रेस विधानले पनि उम्मेदवार सिफारिस गर्दा शुल्क लिने व्यवस्था गरेको छैन। तर उम्मेदवारको नामावली संकलन गर्ने बेला क्षेत्रीय कार्यसमितिहरूले पैसा उठाउने गरेका गुनासो केन्द्रीय कार्यालयमा आएका छन्।

नेपाली काङ्ग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी मंसिर ४ को चुनावका लागि उम्मेदवार सिफारिस गर्ने कार्य गरिरहेको छ।

काङ्ग्रेस केन्द्रले दिएको निर्देशनअनुसार यही भदौ १८ भित्र उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्ने हुन्छ। साथै प्रदेशले जिल्लाहरूबाट प्राप्त उम्मेदवारको नाममा रायसहित भदौ २० भित्र केन्द्रमा नामावली पठाउनुपर्ने हुन्छ।

प्रदेश सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिक र प्रतिनिधि सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकोले त्यस्ता गतिविधि नगर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको हो।

काङ्ग्रेसले क्रियाशील सदस्य र लाभका पदमा रहेका पार्टी सदस्यबाट सदस्यता शुल्क र सहयोग रकम (लेबी) बाहेक कुनै किसिमको रकम लिन र उठाउन नमिल्ने गरी विधान र नियमावली बनाएको थियो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा काङ्ग्रेसले पाँचदलीय गठबन्धन गरी जाने निर्णय गरिसकेको छ। गठबन्धनका अन्य दलले उम्मेदवारी दिने क्षेत्रमा काङ्ग्रेसले आफ्ना उम्मेदवार नउठाउने पनि बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर