अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई तीन दिनभित्र जवाफ पेश गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।
नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको भनिएको संरचना हटाउने महानगरको कदमविरूद्ध दायर रिटमाथि गरेको टिप्पणीका कारण साहविरूद्ध सर्वोच्चमा अधिवक्ता दीपकराज जोशीले अवहेलना मुद्दा दायर गरेका थिए । जोशीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले तीन दिनभित्र जवाफ दिन आदेश जारी गरेको हो।
नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशपछि मेयर साहले सामाजिक सञ्जालमा ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं,’ भन्दै लेखेका थिए ।
