आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी खटाइने भएको छ । स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी खटाइएका थिए ।
नेपाल प्रहरीले एक लाख २० हजार म्यादी भर्नाको प्रस्ताव गरे पनि बजेट हेरेर अर्थ मन्त्रालयले १ लाख १५ हजार भर्ना गर्ने भन्दै गृह मन्त्रालयलाई आइतबार पत्र पठाएको हो । आगामी चुनावमा मतदानस्थल बढ्ने भएकाले म्यादीको संख्या बढाउन लागिएको बताइएको छ ।
म्यादी प्रहरीको तलब स्थानीय निर्वाचनभन्दा केही बढाउने सरकारको तयारी छ । यस अघि २२ हजार ६ सय ८० रुपैयाँ तलब पाएकोमा अब २६ हजार ८२ रुपैयाँ पाउनेछन् ।
यसका अतिरिक्त सम्बन्धित जिल्लाको दररेट अनुसारको रासनभत्ता पनि म्यादीले पाउनेछन् । उनीहरूलाई पोसाक, जुत्ता, लठीलगायत सामान खरिदमा यसअघि ६ हजार रुपैयाँ दिइएकोमा यसपटक आठ हजार प्रस्ताव गरिएको छ ।
मंसिरमा जाडो हुने भएकाले स्वेटरसमेत किन्नुपर्ने भएकाले यस्तो खर्च बढाइएको हो । त्यस्तै, यसअघि बाटो खर्च हजार रुपैयाँ दिइएकोमा यसपटक एक हजार पाँच रुपैयाँ दिइनेछ । यसरी म्यादीहरु ४० दिन खट्दा करिब ६ अर्ब रुपैयाँ खर्च हुनेछ ।
स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थल रहेकोमा त्यसमा करिब पाँच सय थपिने सम्भावना छ । कैदी बन्दीले पनि मतदान गर्न पाउने भएकाले ७४ कारागारमा पनि मतदानस्थल राखिनेछ ।
निर्वाचनमा खटिने नेपाल प्रहरीको संख्या पनि यसपटक धेरै हुनेछ । गत निर्वाचनमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिनेछन् ।
स्थानीय तहको निर्वाचनका समयमा धेरै पद रिक्त रहेकामा हालै धेरै प्रहरी पासआउट भएकाले सुरक्षामा थप सहज हुने एक प्रहरी अधिकारीले बताए । निर्वाचनमा प्रमुख भूमिका नेपाल प्रहरीकै हुने तथा सेना र सशस्त्र प्रहरी पनि सहयोगी भूमिकामा खटिने गृहप्रवक्ता फणीन्द्रमणी पोखरेलले बताए ।
निर्वाचनका लागि गाडी किन्न सरकारले नेपाल प्रहरीलाई ७५ करोड रुपैयाँ दिने भएको छ । जसबाट एक सय ७० वटा गाडी किन्ने प्रहरीको तयारी छ । स्थानीय तह निर्वाचनमा प्रहरीले गाडी खरिदका लागि बजेट नपाएपछि भाडामा गाडी लिएको थियो ।
प्रहरीले करिब आठ सय गाडी किन्न बजेट मागेकोमा एक सय ७० किन्ने बजेट पाएको हो । छिटो प्रक्रियाबाट गाडी किन्ने प्रहरीको तयारी छ । नेपाल प्रहरीसँगै सशस्त्रलाई पनि गाडी खरिदका लागि बजेट छुट्याइएको गृह मन्त्रालय स्रोत बतायो ।
निर्वाचनमा खटिने प्रहरीले १५ दिनसम्मको चुनाव भत्ता पाउनेछन् । जिल्लाभित्रै खटिनेले सात दिनको तथा जिल्लाबाहिर खटिनेले १३ दिनको पाउने गरी अर्थले बजेटको सुनिश्चितता दिएको छ ।
कतिपय दुर्गममा खटिनेको हकमा भने १५ दिनसम्मको भत्ता दिइनेछ । दैनिक भ्रमण भत्ताकै दररेटमा उनीहरूले चुनाव भत्ता पाउनेछन् ।
सेनाले चुनावअघि प्रहरीलाई इन्सास राइफल सहयोग गर्ने भएको छ । यसअघि पनि पटक–पटक सेनाले आफ्ना पुराना इन्सास राइफल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
त्यसबाहेक सेनासँग हजार थान पेस्तोल पनि प्रहरीले चुनावी सुरक्षाका लागि लिने भएको छ । प्रहरीले हतियार किन्ने प्रयास गरे पनि कमिसनको विवादमा मुछिएपछि सम्झौता गरेर पनि पछि रद्द गरेको थियो ।
