काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको प्रष्टिकरण दिएका छन् ।
महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी केही राजनीतिक दलका नेताहरूले प्रश्न उठाएपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको जिकिर गरेका हुन् । आइतबार एक वक्तव्य जारी गर्दै उनले अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन नदिने बताएका छन्।
उनले भनेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’
मेयर साहले आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी बस्नु उचित नहुने बताउँदै महानगरबाट कार्यकारिणी अधिकार प्रयोग कुन चरणमा हुन्छ भनेर बुझ्न सुझाव दिएका छन् । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुने उनले बताए ।
अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्य रोक्ने अभियान जारी रहने मेयर साहले विज्ञप्तिमार्फत जनाए ।
