पछिल्ला वर्षहरूमा जबरजस्ती करणीका घटनामा वृद्धि भएसँगै कैलाली कारागारमा क्षमताभन्दा निकै बढी कैदीबन्दी राखिएका छन् । १५० जना क्षमताको कैलाली कारागारमा जबरजस्ती करणी मुद्दाका मात्रै हाल १८३ कैदीबन्दी छन् ।
कैलाली कारागार प्रशासनका अनुसार हाल सबै मुद्दाका गरी ५७४ जना कैदीबन्दी छन् । जबरजस्ती करणी मुद्दामा १२९ जना कैदी र ५४ जना बन्दी छन् । तीमध्ये ४ जना विदेशी हुन् ।
जबरजस्ती करणी तथा यौन दुर्व्यवहारसम्बन्धी कानुनमा कडा प्रावधान राखिनुका साथै पीडित (महिला) का पक्षमा लचिलो बनाइएसँगै कैलालीसहित सुदूरपश्चिम प्रदेशमा पनि जबरजस्ती करणीका घटनामा मुछिएकाकाे संख्या निरन्तर वृद्धि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको अभिलेखअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा जबरजस्ती करणीका ११७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कैलालीमा जबरजस्ती करणीका ९९ मुद्दा दर्ता भएकामा ०७६/०७७ मा यो सङ्ख्या ९२ थियो ।
त्यस्तै, गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योगमा ४१ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७७/०७८ र ०७६/०७७ मा यो सङ्ख्या क्रमशः ४१ र २८ रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीको अभिलेखमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशभरि गत आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्ती करणीका २३५ मुद्दा दर्ता भएका थिए । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार जबरजस्ती करणीका घटनामा १९ देखि ४० वर्ष उमेर समूहका महिला बढी पीडित छन् । यो अवधिमा जबरजस्ती करणीका घटनामा १९–४० वर्ष समूहका १२५ जना पीडित भएका थिए ।
त्यस्तै, १८ वर्षमुनि उमेर समूहका ९९ जना जबरजस्ती करणीका घटनामा पीडित भएका थिए । ४१–६० वर्ष उमेरका ८ जना र ६० वर्षमाथिका ३ जना जबरजस्ती करणीका घटनामा पीडित भएका थिए ।
‘कैलालीमा योजना बनाएर क्रुर प्रकृतिका जबरजस्ती करणीका घटनाको सङ्ख्या न्यून रहेको अपराध विश्लेषणले देखाएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले कोसी अनलाइनसँग भने, ‘बलात्कारसम्बन्धी कानुन परिमार्जन भएपछि मुद्दाको चाप बढेको छ ।’
उनले कानुनी रुपमा उमेर नपुगेका केटाकेटी भागेर बिहे गर्दा र ‘रिलेसनसिप’मा रहँदा समेत बलात्कार मुद्दा प्रभावित हुने गरेको बताए । उनका अनुसार कतिपय सन्दर्भमा मन मिल्दासम्म प्रेम वा आफूखुसी र मन फाट्दा जबरजस्ती करणीको उजुरी पनि आउने गरेका छन् ।
प्रहरीले कानुनी व्यवस्थाअनुसार मुद्दा दर्ता गर्ने र चलाउने गर्नुपर्ने हुँदा कोही पनि महिलाले आफू बलात्कार वा यौन दुर्व्यवहारमा परेको उजुरी दिएपछि दर्ता गर्नैपर्ने हुन्छ । प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘जबरजस्ती करणीका जाहेरी आएपछि सकेसम्म सत्यतथ्य परीक्षण गर्ने प्रयास गर्छौं ।’
