Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएका छन् ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भए पनि दीर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रूपमा स्थापित भएको उनको दाबी छ । एमाले अध्यक्ष ओलीले भनेका छन्, तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्रा विरुद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य छैन ।’

स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको र पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको ओलीको विश्लेषण छ । राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण लगायतका उद्देश्यमा सहमत सहयात्रीहरूसँग सहकार्यलाई खुला राख्ने, तर एक्लै पनि सफल हुनसक्छौं भन्ने आत्मविश्वास राख्ने ओलीले बताएका छन् ।

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रूपमा अघि सारेका छन् । निर्वाचन क्षेत्रको शक्ति सन्तुलन हेरेर प्रतिस्पर्धा रहेको ठाउँमा जित सुनिश्चित गर्न तथा एमाले अगाडि रहेको ठाउँमा जीतलाई कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर