डिजिटल प्रणालीमा आधारित राष्ट्रिय परिचयपत्र दर्ताका लागि विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुको विवरण संकलन सुरु गरिएको छ ।
जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार पार्न कारागारभित्र अस्थायी डेस्क स्थापना गरी सोमबारदेखि कैदीबन्दीहरुको तथ्याङ्क संकलन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले स्थापना गरेको अस्थायी डेस्क मार्फत् कैदीबन्दीहरुको औंठाको छाप, आँखाको रेटिना स्क्यान र डिजिटल हस्ताक्षर लगायतका आवश्यक विवरण संकलन सुरु गरिएको हो ।
प्रारम्भिक चरणमा पुरुषहरुको विवरण संकलन गरिने मोरङका कारगारका प्रमुख रामप्रसाद पोखरेलले बताए । मोरङ कारागारमा हाल १०५४ कैदीबन्दीहरु छन् । जसमा पुरुष कैदीबन्दीहरुको संख्या ९६६ रहेको छ । राज्यले प्रदान गरेको आवश्यक सेवा/सुविधा एकीकृत प्रणाली मार्फत् प्राप्त गर्न कैदीबन्दीहरुलाई पनि सरकारको राष्ट्रिय परिचयपत्र अभियानमा सहभागी गराईएको मोरङका प्रमुुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
कारागारमा रहेका कैदीबन्दीहरुको विवरण दर्ता तथा संकलनका निम्त्ति गएको असार ८ गते राष्ट्रिय परिचय पत्र व्यवस्थापन विभागले मोरङ प्रशासनलाई पत्र पठाएको थियो । कोभिड महामारी लगायतका कारणले केही ढिलाई भएपनि मोरङ प्रशासनले हाल द्रुत गतिमा विवरण संकलन कार्य गरिरहेको छ । सवारी चालक अनुमति पत्र, प्यान कार्ड, विवाह दर्ता र नागरिकता लगायतका सबै सरकारी कागजातपत्र अब डिजिटल प्रणालीमा आधारित राष्ट्रिय परिचय पत्रमै समाबिष्ट हुने भएकाले यसबाट नागरिकले एकीकृत रुपमा आवश्यक सेवा/सुविधा प्राप्त गर्न सक्ने विश्वास लिईएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि मोरङमा हालसम्म २ लाख २५ हजार बढीको विवरण संकलन भईसकेको छ । मोरङमा २०७८ असोज ४ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि नागरिकको जैविक तथा व्यक्तिगत विवरण संकलन सुरु गरिएको थियो । जसमा हालसम्म रङ्गेली, सुनवर्षी, रतुवामाई, धनपालथान, जहदा, कटहरी, ग्रामथान, मिक्लाजुङ र केराबारीमा यो अभियान सम्पन्न भईसकेको छ ।
उर्लाबारीमा विवरण संकलनको कार्य अन्तिम चरणमा छ । बाँकी रहेका बेलबारी, कानेपोखरी, लेटाङ, सुन्दरहरैंचा, पथरी–शनिश्चरे, बुढीगंगा र विराटनगरमा चाँडै नै विवरण संकलनको कार्य सुरु गर्ने तयारी रहेको मोरङ प्रशासनले जनाएको छ ।
