मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली नागरिकता भएका र मतदाता परिचयपत्र रहेका सबै नागरिकले मत खसाल्न पाउनेगरी मतदान केन्द्र निर्धारण गर्नेगरी निर्वाचन आयोगले तयारी गरेको छ ।
आयोगले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदी बन्दीहरूलाई समेत मतदानको अवसर दिने भएको छ। यसका लागि आवश्यक गृहकार्य भइरहेको आयोगले जानकारी दिएको छ ।
यसका लागि कारागार, सैनिक ब्यारेक, सशस्त्र क्याम्प, प्रहरी कार्यालय तथा विभिन्न कारागारमा समेत मतदान केन्द्र राखिनेछ । हाल देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन् ।
देशभर ७० वटा जिल्ला कारागार छन् । जेल तथा सैनिक ब्यारेकमा निर्वाचन गराउने कर्मचारी कारागार तथा सैनिक ब्यारेकमै पुग्नेछन्।
कार्यालय बिदाको दिनमा कार्यालय जानुपर्ने कर्मचारीले पनि सहज किसिमले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले आयोगले यसपटक प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै एउटा मतदान केन्द्र राख्ने तयारी आयोगको छ ।
आयोगका अनुसार यसपटक कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् । प्रत्यक्षतर्फ भने उनीहरूले मतदान गन पाउने छैनन् ।
