गत सिजन च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस सुपर कप विजेता बनेको रियल मड्रिडले आफ्ना खेलाडीहरुलाई थप मेहनत गर्न निर्देशन दिएको छ ।
प्रि–सिजनअघि रणनीति निर्माण गर्न व्यस्त रहेका रियलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी र अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना खेलाडीहरुलाई अघिल्लो सिजन उपाधि जितेको बिर्सेर अझै मेहनत गर्न आदेश दिएका छन् ।
२१–२२ को सिजनमा क्लबलाई ‘ट्रिपल’ दिलाएकोमा धन्यवाद प्रकट गरेको क्लबले अब आउँदो सिजनको तयारीमा ध्यान दिन खेलाडीलाई विशेष निर्देशन दिइसकेको छ ।
प्रशिक्षक एन्सेलोटीले प्रि–सिजनअन्तर्गत अमेरिकामा हुने बार्सिलोनासँगको मैत्रिपूर्ण खेलबाट नै २२–२३ को सिजन सुरुवात हुने बताइसकेका छन् ।
रियल मड्रिड र बार्सिलोनाको मैत्रिपूर्ण अभ्यास खेल जुलाई २४ मा अमेरिकास्थित एलेजिन्ट रङ्गशालामा हुँदैछ ।
टोलीको उद्देश्य हरेक खेलमा जित्नु पर्ने रहने भन्दै प्रशिक्षक एन्सेलोटीले सबै खेलाडीलाई सोही अनुसारको मनोविज्ञानको विकास गर्न निर्देशन समेत दिइसकेका छन् ।
१५औं पटक च्याम्पियन्स लिग जित्ने लक्ष्य निर्माण गरेर आउँदो सिजन सुरू गर्ने तयारी गरिरहेको रियलले आफ्नो क्लबका सबैलाई त्यसतर्फ केन्द्रीत गराई रहेको छ ।
गत सिजनमा रियलका लागि उत्कृष्ट प्रदर्शन गरेका करिम बेन्जेमा, भिनिसियस जुनियर, एडुआर्डाे कामाभिङ्गा, थिबाउट कोर्तुवा र लुका मोर्डिज लगायत सिनियर खेलाडीहरुलाई क्लबले आफ्नो योजना बताई सकेको छ ।
त्यसबाहेक, ड्यानी कार्भाजल, नाचो फर्नान्डेज, कासेमिरो र टोनी क्रुसले समेत क्लबको योजनालाई सार्थक पार्ने हिसाबले प्रतिबद्धता जनाइसकेका छन् ।

१४औं पटक युरोपियन च्याम्पियन बनिसकेको क्लब ३५ पटक ला लिगा र १२ पटक स्पेनिस सुपर कप विजेता भई सकेको छ ।
एक सय २० वर्षअघि सन् १९०२ मा स्थापना भएको रियलले ९६ प्रतियोगिताको उपाधि हात पारिसकेको छ ।
