Nepali Unicode | Preeti to Unicode

भारत भ्रमणमा दिल्लीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्तारुढ दल भारतीय जनता पार्टिका अध्यक्षसँग भेटवार्ता गर्दैछन् ।

राजनीतिक भेटघाटका क्रममा उनले आज भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबार प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको ट्वीटमार्फत् जनाएका छन् ।

त्यसअघि शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । सोही बैठकमा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि उनको भेट भएको थियो ।

प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरी सोहि दिन नेपाल फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर