सर्वोच्च अदालतले १ सय ३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ ।
बुधबारको पूर्ण बैठकले गरेको निर्णयअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले पनि उपाधि पाएका छन् । उनले २०५० सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए ।
यसैगरी महिलामा केवल मीरा ढुंगानाले वरिष्ठको उपाधि पाएकी छिन् ।
कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि दिने प्रक्रिया थालिए पनि निर्णय हुन सकेको थिएन ।
कम्तीमा ५० वटा फैसलामा नाम र कर तिरेको प्रमाणपछि अदालतले उपाधि दिएको हो । नयाँ उपाधिसँगै अब वरिष्ठको उपाधि पाउने करिब ६ सय हाराहारीमा कानुन व्यवसायी पुगेका छन् ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले एक साताअघि बारका पदाधिकारीसँग साताभित्रै उपाधिबारे निर्णय गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
