Nepali Unicode | Preeti to Unicode

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा मजदूरसहित ७ जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ तातो अलकत्रा बोकेको ट्याङ्कर वेल्डिङ्ग गर्दा पड्किएको हो ।

जसमा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले बताए। गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको छ।

घाइते हुनेमा गोडैता–४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी र उनका भाई १९ वर्षीय अनुराग चौधरी छन् ।

यसैगरी स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल र हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव घाइते भएका हुन् ।

जलेर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।

ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ।

अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर