Nepali Unicode | Preeti to Unicode

बुधवारदेखि आन्तरिक उडान अवरुद्ध गर्ने निर्णयबाट वायुसेवा सञ्चालक सङ्घपछि हटेको छ । सङ्घले बुधवारदेखि उद्धार र आपत्कालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो ।  योसँगै आज नियमित उडान हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले मङ्गलवार पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढीकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको थियो ।

सङ्घले प्राधिकरणको निर्णय फिर्ता नभए बुधवारदेखि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँ बाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ ।

हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एसियाली विकास बैङ्कको ऋण सहयोगमा ह्याङ्गर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्ने गरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर