Nepali Unicode | Preeti to Unicode

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको भागबन्डामा असहमति जनाउँदै सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताले ठाउँ–ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले स्थानीय आवश्यकता र वस्तुस्थिति नै नबुझी केन्द्रीय तहबाट गठबन्धन लादिएको भन्दै असन्तुष्टि जनाएका छन् । वीरगन्ज, पोखरा, जनकपुर, नेपालगन्जलगायत नगरहरूमा पार्टीभित्रै असन्तुष्टि चुलिएको छ ।

काङ्ग्रेसका स्थानीय नेता–कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् भने आफ्नै दलका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

आफ्नो दलले एकल रूपमै जित्ने पालिकाहरूमा गठबन्धन गरी सानो दललाई मेयरको भाग दिएको भन्दै असन्तुष्टि चुलिएको हो । कतै काङ्ग्रेसका मेयर छानिएपछि जसपाको विरोध चलेको छ ।

जनकपुरधाम

सत्ता गठबन्धनले जनकपुरधामको मेयर अर्काे दललाई दिएको भन्दै नेपाली काङ्ग्रेसले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

काङ्ग्रेस नेता–कार्यकर्ताले आज (बुधबार) साँझ प्रदर्शन गरेका हुुन् । उनीहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नारा लगाएका छन् ।

यहाँको मुरली चोकमा उनीहरूले टायर बालेर विरोध जनाए । उनीहरूले आफैं जित्ने ठाउँमा अर्काे दललाई मेयर दिएको बताएका छन् । गठबन्धनले जनकपुरधामका मेयरमा जनता समाजवादी पार्टीलाई मेयर दिने निर्णय गरेको थियो ।

पोखरा 

पोखरा महानगरपालिकाको मेयर पनि नेकपा (एकीकृत समाजवादी)लाई दिइएपछि काङ्ग्रेसका स्थानीय नेता–कार्यकर्ता विरोधमा उत्रिएका छन् ।

काङ्ग्रेस नेता–कार्यकर्ताले आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरेका छन् भने काङ्ग्रेसबाहेकको उम्मेदवार आए बागी उम्मेदवार उठाउने भएका छन् ।

नेपालगन्ज

​​​​​​​नेपालगन्ज उपमहानगरपालिकाको मेयर काङ्ग्रेसको भागमा गएपछि जनता समाजवादी पार्टी (जसपा) नेता–कार्यकर्ताले विरोध जनाएका छन् ।

जसपाले नेपालगन्जको प्रमुखमा दाबी गरेपनि केन्द्रबाट गठबन्धनले काङ्ग्रेसलाई मेयर दिने निर्णय गरेको थियो । तर त्यो निर्णय नमान्ने जसपाले बताइसकेको छ । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् बाँकेका प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने दाबी गरे ।

नेपालगन्जमा जनता समाजवादीलाई उपमेयर दिइएपछि नेकपा (माओवादी केन्द्र) समेत असन्तíट बनेको छ । माओवादीले आफ्नो अडान कायमै रहेको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर