सत्तारुढ गठबन्धन दलहरूले आगामी स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लामा तालमेल गर्ने जनाएका छन् । आज (बुधबार) बसेको पाँचदलीय गठबन्धनका सुनसरी जिल्लास्तरीय नेताहरूको बैठकले सो निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा वस्तुगत तथा यथार्थपरक अध्ययन गरी गठबन्धन गरेर जाने उद्देश्यले पाँच सदस्यीय कार्यदल गठन गरेको एक विज्ञप्तिमार्फत जनाइएको छ ।
कार्यदलमा नेपाली काङ्ग्रेस सुनसरीका सचिव धीरेन्द्र साह, नेकपा (माओवादी केन्द्र)बाट मुक्साहाङ मेन्याङ्बो (महेश), नेकपा (एस)का सुनसरी सचिव वसन्त सुबेदी, जनता समाजवादी पार्टी सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाबाट हरिलाल अधिकारी रहेका छन् ।
कार्यदलले सुनसरीका स्थानीय तहहरूको वस्तुगत अवस्था गर्दा विगतका निर्वाचनका अवस्थालाई समेत आधार मान्ने बैठकले निर्णय गरेको छ । पाँचदलीय केन्द्रीय नीति निर्देशनको पालना गर्दै वडा तहसम्म नै गठबन्धन गर्ने, वडा तहसम्म नै सबै दलको प्रतिनिधित्व गराउने, जिल्ला, पालिका र वडा तहसम्म गठबन्धन संयन्त्र निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी, दलीय गठबन्धनबाहेकका दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता पनि पाँच दलले जनाएका छन् । चुनावमा संयुक्त प्रतिबद्धता पत्र एवम् संयुक्त चुनाव प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा गठबन्धनमा कुनै समस्या भए जिल्लास्तरीय गठबन्धन संयन्त्रबाट समस्या समाधान गरिने जनाइएको छ ।
