बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै छन् ।
बिमस्टेकको पाँचौ शिखर सम्मेलन आज (बुधबार) श्रीलङ्काको राजधानी कोलम्बोमा हुँदै छ । सम्मेलनलाई भने देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने छन् । उनी भर्चुअल माध्यमबाट सम्मेलनमा सहभागी हुने छन् ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने भौतिक रुपमै सम्मेलनमा उपस्थित हुने बताइएको छ । कोलम्बोमा मङ्गलबार बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी थिए । खड्का अहिले कोलम्बोमै छन् ।
सम्मेलनले बिमस्टेक बडापत्र, बिमस्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिमस्टेक कन्भेन्सन अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ अनुमोदन गर्नेछ । कोरोना महामारीका कारण बिमस्टेक सम्मेलन यसअघि तीन पटकसम्म स्थगित भएको थियो ।
यसअघि यो सम्मेलन नेपालमा भएको थियो । त्यसपछि बिमस्टेकको अध्यक्षता श्रीलङ्काले ग्रहण गरेको हो । सन् २०१८ अगस्टमा नेपालको अध्यक्षतामा चौथो सम्मेलन भएको थियो ।
शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउँछन् । शिखर सम्मेलन ‘बिमस्टेकको प्रोसेस’ अन्तर्गत सर्वोच्च निकाय हो । यसले नै बिमस्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निर्णय गर्छ ।
सन् २००४ मा थाइल्यान्डको बैङ्ककमा भएको सम्मेलनले सम्भव भएसम्म हरेक दुई वर्षमा सम्मेलन गर्ने सहमति गरेको थियो । तर हालसम्म सन् २००४, २००८, २०१४ र २०१८ गरेर चार पटक मात्रै सम्मेलन सम्भव भएको छ ।
