स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा निर्वाचन सुरक्षाका लागि विभिन्न निर्णयहरू हुन थालेका छन् । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बसेको समितिको बैठकले सो नीति पारित गरेको हो । बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘अब निर्धारित स्थानीय तह र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरूप सम्पन्न गर्न सजिलो हुन्छ,’ उनले भने ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा राखेका थिए । बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
