अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।
सोमबार रुकुम सदरमुकाममा पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको बताए । बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।
‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौँ,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’ कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।
उनले प्रमुख सहरसँग ग्रामिण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । उनले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्नेसमेत बताए ।
‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछ,’ उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाडादरलगायतमा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिको चाप परिरहेको बताए ।
