सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले पाँच वर्षभित्रमा करिब तीन सय १५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए ।
उनले एमसिसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसिसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे । मन्त्री कार्कीले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा उमालेसँग आग्रह गर्ने बताए । कार्कीले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भुमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए ।
मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल केन्द्रित भएको बताए । त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।
मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने बताए । उनले एमसिसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसिसीबाट जनतालाई रोजगार बनाउने बताए ।
