रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुस पुगेको छ । बिबिसीका अनुसार सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेको हो ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको गत बिहीबार घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।
रुसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, युएनएचसिआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिस यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् ।
यदि स्थिति थप खराब बनेको खण्डमा युएनएचसिआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ । पोल्यान्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा युक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।
