पूर्वी चितवनको टिकौली चौरमा रत्ननगर महोत्सवको ११औँ संस्करण सुरु भएको छ ।
वाग्मती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले महोत्सवको सोमबार उद्घाटन गरेका छन् ।
फागुन २३ सम्म सञ्चालन हुने महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइने महोत्सव मूल समारोह समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।
महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने अपेक्षा छ ।
महोत्सवमा चार सय २५ स्टल राखिएको छ । महासचिव निराजन खनालका अनुसार महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र १५ करोड रुपैयाँभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको छ ।
आजदेखि चिकेन एन्ड एग फुड फेस्टिभल
रत्ननगरमा आज सोमबारदेखि चौथो चिकेन एन्ड एग फुड फेस्टिभल पनि हुँदै छ । रत्ननगर महोत्सवअन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसँगै जोडिएको ठाउँमा फेस्टिभल आयोजना गरिएको छ ।
पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अन्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेस्टिभल आयोजना गरिएको हो । २५ वटा स्टल रहने फुड फेस्टिभलमा २० अन्डा र १० कुखुराको मासुको परिकार उपलब्ध गराइने छ । कुखुराको मासु र अन्डासँगै माछा र बङ्गुरको परिकारसहित नेवारी, थारू समुदायका खाना पनि फेस्टिभलको आकर्षण बन्ने सङ्घका अध्यक्ष अनिककृष्ण श्रेष्ठले बताए ।
