Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी जसरी पनि टेबल गर्ने बताएका छन् । बिहीबार काङ्ग्रेस नेता अर्जुननसिंह केसीद्वारा लेखित ‘नेपाली काङ्ग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले अमेरिकी सहयोग एमसिसीको पक्षमा उभिन डराउनु नपर्ने बताए । आफू एमसिसी पास गर्न लागि परेको भन्दै देउवाले एमसिसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार्ने बताए ।

उनले भने, ‘एमसिसी जसरी पनि टेबल गर्छु । पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रूपमा पास गर्ने निर्णय गरिसकेका छौं ।’

प्रधानमन्त्री देउवाले काङ्ग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताए । पार्टीले राम्रो काम गरिरहेको भए पनि जश अरूलाई जाने ईश्र्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उनले बताए । प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचारप्रसार गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली काङ्ग्रेस पार्टी डराउन नहुने बताए । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काङ्ग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए । नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि काङ्ग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले नेपाली काङ्ग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबीसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर