३ फागुन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई राजनीतिक दाउपेचभन्दा पनि मुलुकको निकासका लागि सोच्न आग्रह गरेका छन् ।नेता विश्वकर्माले भने, “म एमालेको प्रवक्ता होइन । तर एमालेले प्रधानन्यायाधीशमाथिको महाभियोगमा आफ्नो विवेक प्रयोग गर्न सक्छ । यो एक दलले अर्को दललाई साथ दिने भन्दा पनि मुलुकका लागि निकासका लागि आएको प्रस्ताव हो । उहाँहरुले हामीसँग सल्लाह गरिएन भन्नुभएको होला । तर न्यायालयका विकृति र विसंगतिलाई एमालेले पनि टुलुटुलु हेर्नुहुन्न ।”
एमालेले ६ वटा खाली कागजमा हस्ताक्षर गर्दैमा महाभियोग वा अविश्वास प्रस्ताव भइहाल्छ भन्ने अनुमान गर्न नहुने पनि उनले बताए । विश्वकर्माले थपे, “प्रतिस्पर्धात्मक राजनीतिक पद्धतिमा प्रमुख प्रतिपक्षले सधैंभरि त्यसै गर्नुपर्छ भन्ने छैन । ६ वटा खाली कागजमा हस्ताक्षर गर्दैमा महाभियोग वा अविश्वास प्रस्ताव भइहाल्छ भन्ने अनुमान पनि म गर्दिनँ । अब सबै जिम्मेवार दलहरु राजनीतिक दाउपेचभन्दा पनि मुलुकको निकासका लागि लाग्नुपर्छ ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा उदण्ड रुपमा प्रस्तुत भएकाले महाभियोग लगाउनुपरेको कांग्रेस नेता विश्वकर्माको दाबी छ । उनले भने, “प्रधानन्यायाधीशका काम कारबाही, भूमिका र आचरणलाई लिएर न्यायाधीश र बार आन्दोलन भएकै हुन् । स्वविवेकले निकास दिनुको साटो धमिलो पानीमा माछा मार्ने, दलहरुबीच टकराव ल्याउने, सरकार र संसद्बीच अन्तरविरोध सिर्जना गर्ने र राजनीति गर्न थालेपछि बाध्यतात्मक रुपमा महाभियोग आएको हो । उहाँ जालजेल र षड्यन्त्र गर्दै थप उदण्ड रुपमा प्रस्तुत गर्नुभयो । यसको प्रमुख जिम्मेवार उहाँ नै हो ।”
महाभियोग त लगाउनुभयो, दुई तिहाइ कसरी पुर्याउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि विगतमा अति राम्रो भएर महाभियोग नल्याएको पनि होइन, अहिले ठीक हुँदाहुँदै ल्याएको पनि होइन । शुद्दीकरण गर्नुपर्नेमा उहाँले वातावरण थप बिगार्दै जानुभयो । हो, महाभियोग पास हुन दुई तिहाइ चाहिन्छ । उहाँको भूमिकालाई लिएर एमाले पनि असन्तुष्ट थियो । अब महाभियोग पारित गरेर धमिलो राजनीतिलाई सफा गर्ने अवसर छ ।”
