आगामी तीनवटै तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक सङ्घले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार सङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी तीनवटै तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रचार–प्रसारको जिम्मेवारी लिने बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई अत्यधिक मतले विजयी गराउन स्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रिय र सशक्त रूपमा परिचालन गरिने जनाए । उनले काङ्ग्रेसले हालसम्म गरेका काम तथा भविष्यमा गर्ने कामहरूका सम्बन्धमा गीत, सङ्गीत, कविता, नाटक, प्रहसन, नृत्यका माध्यमबाट जनतासम्म पुर्याउने पनि जानकारी दिए । सङ्घले निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा सङ्गठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका सात सय ५३ वटै स्थानीय तहमा सङ्गठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने भएको छ ।
